८ असार, काठमाडौं । अमेरिका र इरानबीच युद्ध समाप्तिका लागि स्विट्जरल्यान्डमा वार्ता चलिरहेको छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएका छन् ।
धम्कीप्रति आपत्ति जनाउँदै इरानका मुख्य वार्ताकारसमेत रहेका संसद् सभामुख मोहम्मद बगर गालिबाफले जवाफ फर्काएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका थिए, ‘यदि इरानले लेबनानमा इजरायलसँग लड्दै आएको हिज्बुल्लाहलाई नरोके अमेरिका हमला गर्ने छ ।’
इरानले उक्त चेतावनीमा प्रतिक्रिया दिँदै लड्न तयार रहेको बताएको छ । इरानी मुख्य वार्ताकार गालिबाफले ट्रम्पलाई जवाफ दिँदै भनेका छन्, ‘उनलाई के लाग्छ ? यदि उनका धम्कीहरूको कुनै प्रभाव परेको भए उनी आज यस्तो अवस्थामा हुन्थे ? उनले जति नै कुरा गरे पनि वास्तविक कदम त हामी नै चाल्छौं ।’
अमेरिका र इरानबीच गतसाता भएको सम्झौतामा लेबनानसहित हरेक मोर्चामा युद्ध रोकिनुपर्ने सर्त उल्लेख थियो । सर्तविपरित दक्षिणी लेबनानमा हिज्बुल्लाह र इजरायली सेनाबीच लडाई तीव्र बनेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको हवाई हमलामा दर्जनौं लेबनानी नागरिक मारिएका छन् । मारिनेमा महिला र बालबालिका पनि रहेका छन् ।
बढ्दो तनावका बीच अमेरिकाले शुक्रबार इजरायल र हिज्बुल्लाहबीच नयाँ युद्धविराम घोषणा गरेको थियो । तर, झडप र हवाई हमले जारी रहेपछि शनिबार इरानले होर्मुज स्ट्रेट बन्द गरेको बताएको थियो । तर, बीबीसीका अनुसार जहाजहरूको आवतजावतको आंकडाले होर्मुज स्ट्रेट बन्द नरहेको बताउँछ ।
