७ असार, चितवन । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समग्र पार्टी र नेतृत्वको प्रशंसा गरेका छन् । आइतबार रास्वपा महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले मधेसीको छोरालाई प्रधानमन्त्री बनाएर पौने तीन वर्ष अगाडिको त्यो सपना पूरा गरेको बताए ।
“तपाईंहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, जनआस्था र विश्वास प्राप्त गर्नु भएको छ त्यो सहिदहरूको सपना कहिल्यै पनि नबिर्सिनुहोला,” उनले भने, “एउटा मधेसीको छोरालाई प्रधानमन्त्री बनाएर त्यो सपना पूरा गर्नु भएको छ । त्यसको लागि धन्यवाद दिन म यहाँ उपस्थित भएको छु ।”
राउतले रास्वपाले देखेको सपना आफूले पनि देखेको र प्रतिस्पर्धीभन्दा पनि सहयोगीका रूपमा महाधिवेशनमा सहभागी भएको बताए । महाधिवेशन मात्रै नभई क्रान्तिको महोत्सव रहेकाले उपस्थित भएको उनको भनाइ छ ।
जनमत पार्टीको उदयसँगै सपना मात्रै नदेखेर विभिन्न आन्दोलनसँगै अभियान ल्याउँदा पनि जनताले नपत्याएको उनले गुनासो गरे । त्यो सौभाग्य रास्वपाले प्राप्त गरेको भन्दै अगाडि बढ्न राउतले शुभकामना दिए ।
