७ असार, काठमाडौं । बाढीले क्षति पुर्याएको बीपी राजमार्गमा यातायात सुचारु गर्न सडक डिभिजन कार्यालयले युद्धस्तरमा काम अघि बढाएको छ ।
रोशी खोलाको डाइभर्सनमा आउने अवरोधलाई छल्न अहिले सडकको माथिल्लो भागमा नयाँ ट्रयाक निर्माणको काम भइरहेको छ । चारसयबेँसी, बोक्सीकुना, कालढुंगा र डालाबेंसीलगायतका खण्डमा ग्राभेल तहको काम सम्पन्न गरी १५ असारदेखि नयाँ ट्रयाकबाटै सवारी चलाउने गरी तयारी गरिएको छ ।
तत्कालका लागि ग्राभेल सडकमा सवारी सञ्चालन गरिने र आगामी आर्थिक वर्षमा कालोपत्रको प्रक्रिया अघि बढाउने कार्यालयको योजना छ । भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको क्षतिग्रस्त ३० दशमलव ५ किमि सडकलाई दुई लेनमा निर्माण गर्न विभिन्न ठेकेदार कम्पनीहरू परिचालन गरिएका छन् भने जाइकाको सहयोगमा हुने निर्माण कार्यलाई पनि तीव्रता दिइएको छ ।
