काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज (शुक्रबार) बसेको बैठकको निर्णयानुसार नतिजा प्रकाशन गरिएको बोर्डकी प्रवक्ता जयन्ती सत्यालले जानकारी दिइन् ।
गत वैशाख १४ गतेदेखि सञ्चालन भएको उक्त परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थीहरू सहभागी भएका थिए । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्ष कुल सहभागी परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण (ग्रेडेड) भएका छन् ।
परीक्षालाई अमर्यादित बनाएको र परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै बोर्डले कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिदिएको छ। परीक्षा रद्द हुनेहरूमा नियमिततर्फका ३० जना र आंशिक (ग्रेडवृद्धि) तर्फका १० जना परीक्षार्थीहरू रहेका छन् ।
