वीरगन्ज । सडक डिभिजन हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत पथलैया–पिप्ले–पुलचोक हुँदै बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमा संरक्षण अभियानलाई तीव्र बनाएको छ। डिभिजनले सार्वजनिक सूचना जारी गर्दै सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका संरचना तथा अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो।
डिभिजनका अनुसार सडक सीमा संरक्षण कार्य २०८३ वैशाख ६ गतेदेखि सुरु गरिएको भए पनि हालसम्म केही व्यक्तिहरूले सडक सीमाभित्र रहेका जोखिमयुक्त भवनमा बसोबास तथा व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ। यस्तो कार्यले दुर्घटनाको जोखिम बढाउने भएकाले ती भवनहरूमा बसोबास नगर्न र व्यापार सञ्चालन नगर्न अनुरोध गरिएको छ।
सूचनामा सडक सीमाभित्र रहेका बाँकी संरचनाहरू पाँच दिनभित्र स्वयं हटाउन भनिएको छ। अन्यथा सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्यअन्तर्गत डिभिजन आफैंले ती संरचनाहरू हटाउने चेतावनी दिइएको छ।
साथै, सूचना अवज्ञा गरी कुनै अप्रिय घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने सडक डिभिजन हेटौंडाले जनाएको छ।
सडक डिभिजन हेटौंडाले सडक सुरक्षा, यातायात व्यवस्थापन तथा भविष्यमा हुने सडक विस्तारलाई ध्यानमा राख्दै सडक सीमा खाली गराउन लागेको जनाएको छ।
