काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–६ टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षा कर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । हिजो दिउँसो साढे ४ बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए ।
उनीहरु फसेको जानकारी भएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मङ्गलबारे तथा भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो । वर्षायाममा खोलानाला तथा नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
