२३ जेठ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा जिल्ला अधिवेशनअघि आन्तरिक विवाद सतहमा आएको छ। निर्वाचन प्रक्रिया तथा संगठनात्मक संरचनालाई लिएर असन्तुष्टि बढेपछि जेठ २४ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन स्थगित गर्न औपचारिक माग गरिएको छ।
पार्टीका सदस्य महादेव प्रसाद कुर्मीले निर्वाचन संयोजक डा. नन्दन यादवलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशनका लागि सार्वजनिक गरिएको प्रतिनिधि सूचीमाथि प्रश्न उठाएका छन्। उक्त ज्ञापनपत्र मधेश प्रदेश उपसभापति राधिका न्यौपाने साह कलवार तथा मधेश प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद कुमार रायमाझीलाई समेत बोधार्थ पठाइएको छ।
ज्ञापनपत्रमा विभिन्न विभागका प्रतिनिधिहरू अधिवेशन प्रतिनिधिका रूपमा समावेश गरिएको उल्लेख गर्दै ती विभाग कहिले, कुन प्रक्रिया र निर्णयका आधारमा गठन वा मनोनयन गरिएको हो भन्नेबारे स्पष्ट जानकारी माग गरिएको छ। साथै विभाग गठनसम्बन्धी माइन्युट, निर्णय विवरण तथा पार्टीको आधिकारिक पोर्टलमा उपलब्ध अभिलेख सार्वजनिक गर्न माग गरिएको छ।
माग गरिएका विवरणहरू सार्वजनिक नभएसम्म निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न आग्रह गरिएको छ। वीरगञ्ज महानगर समितिको नयाँ कार्यसमितिसम्बन्धी पोर्टल कसले सञ्चालन गरिरहेको छ भन्ने विषयमा समेत स्पष्टता मागिएको छ।
पार्टीभित्र विभाग गठन तथा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर लामो समयदेखि असन्तुष्टि बढ्दै आएको स्रोतले जनाएको छ। केही नेताहरूले विधि र प्रक्रिया मिचेर मनोनयन गरिएको आरोप लगाएका छन् भने अर्को पक्षले विधानअनुसार नै तयारी अघि बढाइएको दाबी गरेको छ।
अधिवेशन नजिकिँदै गर्दा विवाद सार्वजनिक रूपमा बाहिर आएपछि रास्वपा पर्साको आन्तरिक एकता र संगठनात्मक मजबुतीमाथि प्रश्न उठ्न थालेको छ। यद्यपि, विवादबारे जिल्ला नेतृत्व वा प्रदेश समितिले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
विवाद समाधान गरी अधिवेशन निर्धारित मितिमै सम्पन्न हुने वा स्थगित हुने भन्ने विषयमा कार्यकर्ता तथा समर्थकहरूको चासो बढेको छ।
