काठमाडौं । लामो समयदेखि जारी भीषण सैन्य टकराव र रक्तपातपूर्ण युद्धपछि मध्यपूर्वमा एउटा ठुलो र ऐतिहासिक कूटनीतिक सफलता हात लागेको छ ।
लेबनानमा क्रियाशील सिया इस्लामी राजनीतिक पार्टी एवं शक्तिशाली लडाकु समूह ‘हेज्बुल्लाह’ ले संयुक्त राज्य अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्ताव स्वीकार गरेपछि इजरायल र लेबनानबीच औपचारिक रूपमा युद्धविराम सम्झौता भएको छ । यस सम्झौतासँगै दुवै पक्षले अबदेखि एकअर्काको भूभागमा आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् ।
अमेरिकास्थित लेबननी दूतावासले सोमबार राति एक विशेष वक्तव्य जारी गर्दै हेज्बुल्लाहले अमेरिकी शान्ति प्रस्ताव पूर्ण रूपमा स्वीकार गरेको आधिकारिक पुष्टि गरेको हो ।
दूतावासका अनुसार दुवै पक्ष तत्कालैदेखि सैन्य आक्रमण र गोलाबारी रोक्न पूर्ण रूपमा सहमत भएका छन्। यो युद्धविराम नलगातार लेबनानभरि नै लागु हुने जनाइएको छ ।
लेबननी दूतावासले सार्वजनिक गरेको विवरण अनुसार यस ऐतिहासिक प्रस्ताव अन्तर्गत इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको राजधानी बेरुत र त्यसका दक्षिणी क्षेत्रहरूमा गर्दै आएको तीव्र हवाई तथा स्थलगत आक्रमणहरू पूर्ण रूपमा बन्द गर्नेछ । त्यसको बदलामा हेज्बुल्लाहले पनि इजरायली सहर र सैन्य ठेगानाहरूलाई लक्षित गरी गर्दै आएको क्षेप्यास्त्र तथा रकेट प्रहारलाई पूर्ण रूपमा रोक्नेछ ।
महिनाौँदेखिको तनाबलाई मत्थर पार्न संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्दा पछाडि कूटनीतिक कमाण्ड सम्हालेका थिए । राष्ट्रपति ट्रम्प आफैँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हेज्बुल्लाहका उच्चस्तरीय प्रतिनिधिहरूसँग सिधा संवाद (वार्ता) गरेपछि मात्र यो युद्धविराम सम्भव भएको हो ।
सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्ष ऐतिहासिक रूपमा गोलाबारी बन्द गर्ने निष्कर्षमा पुगेको र यसले मध्यपूर्वमा स्थायी शान्तिको ढोका खोल्ने विश्वास व्यक्त गरे ।
यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि लेबनानसँग युद्धविराम सम्झौता भएको कुरालाई आधिकारिक रूपमा स्वीकार गरेका छन् । तर, सम्झौताको पुष्टि गरे लगत्तै उनले हेज्बुल्लाहलाई कडा शब्दमा चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्री नेतन्याहुले भनेका छन्, “हामीले शान्तिका लागि सम्झौता त गरेका छौँ, तर यदि हेज्बुल्लाहले हाम्रा सहरहरू र इजरायली नागरिकहरू विरुद्ध कतैबाट पनि आक्रमण गर्न बन्द गरेन वा सम्झौता उल्लङ्घन गर्यो भने, इजरायलले लेबनानभित्र आफ्नो सैन्य कारबाही र हमलालाई पुनः तीव्र रूपमा जारी राख्नेछ।”
विगत लामो समयदेखि सीमा क्षेत्रमा आमनेसामने रहेका इजरायल र हेज्बुल्लाहबीचको यो युद्धविरामलाई विश्व समुदायले राहतका रूपमा लिएको छ। यद्यपि, विगतका कतिपय सम्झौताहरू भङ्ग भएका नजिरहरूका कारण यो युद्धविराम कति समयसम्म टिकिरहला भन्नेमा अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तले निकै चासो र सतर्कताका साथ नियालिरहेको छ ।
