१७ जेठ, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले निर्वाचन प्रणालीलाई थप व्यवस्थित र परिष्कृत गर्ने उद्देश्यले दुईवटा महत्वपूर्ण विधेयकहरू बहुमतले पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव पेस गरेकी थिइन् । सभामा भएका छलफल र प्रक्रिया पूरा भएपछि दुवै विधेयकहरू बहुमतले पारित भएका हुन् ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त यी दुई विधेयकहरूले आगामी दिनमा निर्वाचन प्रक्रिया, मतदाताको दर्ता र प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्बन्धी कानूनी व्यवस्थालाई अझ बढी स्पष्ट र समयसापेक्ष बनाउने विश्वास लिइएको छ ।
सदनमा यी विधेयकहरू पारित भएसँगै निर्वाचनसम्बन्धी कानुनी संरचनामा नयाँ सुधारको ढोका खुलेको छ । राष्ट्रियसभाको आजको निर्धारित कार्यसूची सम्पन्न भएसँगै सभाको अर्को बैठक आगामी सोमबार दिउँसो १स्१५ बजे बस्ने गरी स्थगित गरिएको छ ।
