१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा उठेका विभिन्न टिकाटिप्पणीको खण्डन गर्दै यो बजेट आकारमा सानो र यथार्थपरक रहेको दाबी गरेका छन् ।
अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री वाग्लेले मुलुकको कुल गार्हस्थ उत्पादनको तुलनामा बजेटको आकार २८ दशमलव ५ प्रतिशत मात्र रहेको स्पष्ट पारे । विगतमा भूकम्पपछिका वर्षहरूमा यस्तो अनुपात ३० प्रतिशतभन्दा माथि हुने गरेको स्मरण गराउँदै उनले यसपटक राज्यको वास्तविक क्षमता अनुकूल बजेट ल्याइएको बताए । ७४ खर्ब ५८ अर्बको प्रक्षेपित जीडीपीका आधारमा २१ खर्ब २४ अर्बको बजेट सानो र महत्त्वाकांक्षी नभएको उनको जिकिर छ ।
बजेटको आकारबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले मुलुकको हालको ऋण अवस्था र ऋण व्यवस्थापनबारे पनि जानकारी गराए। हाल मुलुकको ऋण २९ खर्ब ७५ अर्ब पुगेको र यो जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको उनले बताए। यसपटक आन्तरिक ऋण ४ खर्ब १० अर्ब र बाह्य ऋण २ खर्ब ४७ अर्ब उठाउने लक्ष्य राखिएको छ, जसमा ठूलो हिस्सा पुरानो ऋणको साँवाब्याज भुक्तानीमै खर्च हुने उनको भनाइ छ। वित्तीय अनुशासन र वाञ्छित सीमाभित्रै रहेर बजेट तयार पारिएकाले यसलाई ठूलो मान्न नमिल्ने उनले प्रष्ट पारे।
यसैबीच, मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत चार दशकदेखि चल्दै आएको ‘बजेट कार्यान्वयन नहुने’ भाष्यलाई यसपालि पूर्ण रूपमा चिर्ने दृढता व्यक्त गरेका छन् । उनले विनियोजन विधेयकमा संशोधन गरी जेठ १६ गतेदेखि नै काम सुरु गर्न मिल्ने कानुनी व्यवस्था मिलाइएकाले अब बजेट खर्च प्रभावकारी हुने दाबी गरे ।
‘पूँजीगत खर्च निकै न्यून हुने गरेको विगतको ट्रेन्ड तोड्न हामीले मन्त्रालयहरूलाई सशक्त बनाएका छौँ, अब अर्थ मन्त्रालयले बजेट अड्कायो भन्ने गुनासो सुन्नुपर्दैन,ू उनले भने । पूँजीगत बजेट खर्च बढाउन सरकारले लिएको यो विशेष पहलले बजेटको कार्यान्वयनमा नयाँ आयाम थप्ने र असाधारण नतिजा ल्याउने अर्थमन्त्री वाग्लेको विश्वास छ ।
