१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक तवरबाट समाधान गर्न सरकार दृढ रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले सीमा समस्यालाई दुवै मुलुकको आपसी समझदारी, वार्ता र स्थलगत अध्ययनका आधारमा टुङ्गो लगाउनुपर्नेमा जोड दिए । उनले सीमासम्बन्धी विवादको दिगो समाधानका लागि कूटनीतिक पहललाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् ।
सदनमा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले एउटा महत्वपूर्ण र आश्चर्यजनक खुलासा गरेका छन् । सीमा क्षेत्रको यथार्थ अवस्थाबारे बोल्दै उनले भने, ‘म प्रधानमन्त्रीको जिम्मेवारीमा आएपछि थाहा पाएँ कि सीमामा भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिले संसद्मा ठूलो चर्चा पाएको छ ।
आफूले पाएको जानकारीअनुसार दुवै तर्फबाट सीमा अतिक्रमणका समस्याहरू रहेकाले यसलाई संकुचित राष्ट्रवाद वा एकपक्षीय दृष्टिकोणबाट मात्र नहेरी वास्तविकताको धरातलमा बसेर समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले दुवै देशका प्रतिनिधिहरू बसेर स्थलगत अध्ययन र प्राविधिक प्रमाणका आधारमा सीमाको यकिन गर्दै समस्याको समाधान निकाल्नुपर्ने आवश्यकता औँल्याए । यो विषय संवेदनशील भएकाले दुई पक्षीय छलफलबाटै यसलाई टुङ्गो लगाउने सरकारी अडान उनले दोहोर्याएका छन् ।
