सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा चापाकल (ह्यान्डपम्प) मा जडान गरिएको विद्युतीय मोटरबाट अचानक करेन्ट लाग्दा एक महिलाको अकालमै मृत्यु भएको छ । आफ्नै घरको आँगनमा पानी तान्ने क्रममा करेन्ट लाग्दा रामनगर गाउँपालिका वडा नम्बर ६, मलाहटोल बस्ने ५० वर्षीया मिथलेसिया देवीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार शनिबार मिथलेसिया देवी घरको पछाडि रहेको चापाकलमा पानी लिन गएकी थिइन् ।
चापाकलमा पानी तान्नका लागि जोडिएको मोटरको तार वा बडीबाट अचानक करेन्ट प्रवाह हुँदा उनी गम्भीर रूपमा प्रताडित बनेकी थिइन् । विद्युत्को तीव्र झट्काका कारण मिथलेसिया देवीको घटनास्थलमै छटपटाएर दुःखद मृत्यु भएको डीएसपी गौतमले जानकारी दिए ।
घटनालगत्तै स्थानीयबासी र आफन्तले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरेको छ। प्रहरीले मृतकको शव सुरक्षित रूपमा बरामद गरी घटनास्थलको प्रारम्भिक मुचुल्का तयार पारेको जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शवलाई पोस्टमार्टम (शव परीक्षण) का लागि प्रादेशिक अस्पताल मलङ्गवाको शवगृहमा राखिएको छ । गर्मी मौसम सुरु भएसँगै तराईका जिल्लाहरूमा खानेपानीका लागि चापाकल र त्यसमा मोटर जोड्ने क्रम बढे पनि प्राविधिक असावधानीका कारण यस्ता घातक दुर्घटनाहरू निम्तिने गरेका छन्। यस कारुणिक घटनाको विषयमा थप छानबिन र अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ ।
