काठमाडौं । आपराधिक लाभ (हनी ट्र्यापिङ), ठगी तथा सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर बैंकिङ र सामाजिक अपराधको कसुरमा फरार रहेकी चर्चित टिकटक भिडियो निर्माता ‘तुलसा अधिकारी’ भन्ने तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छिन् ।
अन्तर्राष्ट्रिय अपराध नियन्त्रण सङ्गठन (इन्टरपोल) मार्फत उनको नाममा ‘रेड नोटिस’ (रातो सूची) जारी भएपछि उनलाई थाइल्यान्डमा नियन्त्रणमा लिई कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेले फरार प्रतिवादी अधिकारीलाई पक्राउ गरी काठमाडौँ ल्याइपुर्याइएको र अहिले उनलाई थप अनुसन्धान तथा अदालतमा उपस्थित गराउन ललितपुर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको औपचारिक जानकारी दिए ।
अधिकारीविरुद्ध पीडित (परिवर्तित नाम) शङ्कर चिमोरियाले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले लामो समय अनुसन्धान चलाएको थियो । अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले करिब चार महिनाअघि नै अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा कुल ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको अभियोगसहित मुद्दा दायर गरिसकेको छ ।
प्रहरीका अनुसार अधिकारीले सामाजिक सञ्जालको आवरणमा प्रभावमा पारेर प्रतिष्ठित र धनाढ्य व्यक्तिहरूलाई ‘हनी ट्र्याप’ मा पार्ने र पछि चरित्र हत्या गर्ने धम्की दिँदै मोटो रकम असुल गर्ने (आपराधिक लाभ लिने) शैली अपनाएकी थिइन् ।
पीडित चिमोरियाबाट मात्रै साढे ६ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा लिएर विदेश फरार भएपछि उनीमाथि ठगी र आपराधिक लाभसँगै अवैध धन लुकाएको कसुरमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को मुद्दा समेत चलाइएको छ ।
