१६ जेठ,काठमाडौं । अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको आर्थिक विधेयक २०८३ शनिबार एकाएक हटाइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेसँगै उक्त विधेयक मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको थियो।
तर, सार्वजनिक भएको एक दिन नबित्दै विधेयक वेबसाइटबाट हटाइएपछि विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेका कर तथा राजस्व सम्बन्धी व्यवस्थाबारे विभिन्न क्षेत्रबाट प्रतिक्रिया आउन थालेका छन्। विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर दरमा गरिएको व्यवस्थालाई लिएर व्यापक बहस र आलोचना भइरहेको छ।
यही विवाद र आलोचनाका बीच अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट हटाएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि मन्त्रालयले विधेयक हटाइएको कारणबारे औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन।
आर्थिक विधेयक वेबसाइटबाट हटाइएपछि कर नीति, पारदर्शिता तथा बजेटसम्बन्धी प्रक्रियामाथि थप प्रश्न उठ्न थालेका छन्। मन्त्रालयले यस विषयमा स्पष्ट जानकारी नदिँदासम्म विधेयक हटाइनुको वास्तविक कारणबारे अन्योल कायम रहने देखिएको छ।
