१६ जेठ,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँले काठमाडौंमा सुकुम्वासी बस्ती हटाउने तथा निजी क्षेत्रमाथि करको भार बढाउने सरकारी नीतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले बालेन शाह नेतृत्वको स्थानीय सरकार गरिबमुखी हुन नसकेको आरोप लगाउँदै खोला किनार तथा सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन र सुकुम्वासीहरूको घरटहरा हटाउने कार्यले विपन्न वर्ग प्रत्यक्ष प्रभावित भएको बताए।
उनले चुनावका बेला सुकुम्वासी समुदायले उत्साहपूर्वक मतदान गरे पनि निर्वाचित नेतृत्वले उनीहरूकै बस्ती हटाउने नीति अवलम्बन गरेको दाबी गरे। बालेन शाह नेतृत्वमा सरकार बनेपछि सुकुम्वासी बस्ती हटाउने विषय आफूले पहिले नै उठाउँदै आएको पनि उनले बताए।
प्रसाईँले वर्तमान सरकारले निजी अस्पताल र निजी विद्यालयमा भ्याट लगाउने व्यवस्था गरेकाले त्यसको भार अन्ततः सर्वसाधारणमाथि पर्ने उल्लेख गरे। स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व औँल्याउँदै उनले यस्ता नीतिले विपन्न नागरिकको उपचार तथा शिक्षामा पहुँच कमजोर बन्न सक्ने चिन्ता व्यक्त गरे।
उनले शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै सरकारबाट प्रोत्साहनको सट्टा दबाब सिर्जना गर्ने नीति अपनाइएको आरोप लगाए।
प्रसाईँका अनुसार वर्तमान आर्थिक तथा प्रशासनिक नीतिहरूले सर्वसाधारण, व्यवसायी र निजी क्षेत्रलाई नकारात्मक असर पार्न सक्नेछन्। सरकार गरिबी न्यूनीकरणभन्दा पनि गरिब वर्गलाई विस्थापित गर्ने दिशामा अघि बढेको उनको आरोप छ।
