काठमाडौं । गृह मन्त्रालयको पूर्व निर्धारित वार्षिक बिदाको सूची र सरकारको निर्णय अनुसार आज (बिहीबार) देखि देशभर लगातार चार दिन सार्वजनिक बिदा सुरु भएको छ ।
धार्मिक पर्व, राष्ट्रिय दिवस र नियमित साप्ताहिक बिदा एकैसाथ जोडिन पुग्दा आज जेठ १४ गतेदेखि आगामी जेठ १७ गते आइतबारसम्म देशभरका सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था एवं सार्वजनिक निकायहरू पूर्ण रूपमा बन्द रहने भएका हुन्।
बिदाको शृङ्खला अनुसार आज जेठ १४ गते बिहीबार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकाले सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ। यसैगरी, भोलि जेठ १५ गते शुक्रबार मुलुकभर विभिन्न कार्यक्रमका साथ ऐतिहासिक गणतन्त्र दिवस मनाइँदै छ। गणतन्त्र दिवसका लागि समेत सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो।
धार्मिक पर्व र राष्ट्रिय दिवसको दुई दिनको बिदासँगै जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार सरकारको नियमित साप्ताहिक बिदा परेको छ । यसरी लगातार चार दिनसम्म सार्वजनिक बिदा परेकाले अब बिहीबारदेखि आइतबारसम्म नागरिकले सरकारी सेवा पाउने छैनन् भने सम्पूर्ण सरकारी कामकाज ठप्प रहनेछन् । लगातारको यो लामो बिदापछि आगामी जेठ १८ गते सोमबार मात्र साताको पहिलो दिन सरकारी कार्यालयहरू नियमित रूपमा खुल्नेछन् ।
लामो समय सरकारी सेवा रोकिने भएपछि आकस्मिक र अत्यावश्यक कामका लागि सरकारी कार्यालय तथा बैंक ध्याउनुपर्ने सर्वसाधारणहरू भने प्रभावित बन्ने भएका छन्। अर्कोतर्फ, कर्मचारी र सर्वसाधारणले भने यस अवधिमा पारिवारिक भ्रमण तथा धार्मिक यात्राको योजना बनाएका छन्, जसका कारण आन्तरिक पर्यटन चलायमान हुने अनुमान गरिएको छ ।



