काठमाडौं । नेपालको मौसममा यतिबेला एकैसाथ दुई फरक खालको मौसमी प्रणाली सक्रिय हुँदा देशैभरिको जनजीवन प्रभावित बन्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभागनजिकै बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ ।
यही मिश्रित मौसमी प्रणालीका कारण आज (बुधबार) देशका सातै प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै शक्तिशाली हावाहुरी चल्ने सम्भावना रहेको छ।
अहिले बिहानैदेखि देशका अधिकांश पहाडी र हिमाली भूभागमा साधारणतया बदली (बादल लाग्ने) भइरहेको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी तराईका भूभागमा मुख्यतया मौसम सफा छ।
दिउँसोको मौसम: कहाँ वर्षा, कहाँ हावाहुरीरु
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा पनि वर्षा हुनेछ। पहाडमा पानी पर्ने सम्भावना रहँदा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी जिल्लाहरूमा अपराह्नपछि तीव्र गतिको हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। हावाहुरीले कृषि बाली, टिनका छाना र सडक यातायातमा क्षति पुर्याउन सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ।
देशको पूर्वी र मध्य भागमा वर्षा र हावाहुरीको जोड रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने आज पनि अत्यधिक गर्मी र ‘हिटवेभ’ (तातो हावाको लहर) चल्ने सम्भावना छ । यी क्षेत्रका बासिन्दालाई दिउँसोको समयमा आवश्यक कामबाहेक घरबाहिर ननिस्कन मौसमविद्हरूले सुझाव दिएका छन्।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागिरहनेछ भने मधेस र अन्य पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकीका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना कायमै रहनेछ। वर्षा, चट्याङ, हावाहुरी र पश्चिमको अत्यधिक गर्मीका कारण हुन सक्ने सम्भावित जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आम सर्वसाधारण र सरोकारवाला निकायहरूलाई विशेष अनुरोध गरेको छ।



