वीरगञ्ज । वीरगञ्जस्थित हिन्दुवादी अगुवा तथा राष्ट्रिय समता पार्टीका अध्यक्ष विजय प्रकाश निशादलाई पर्सा प्रहरीले पक्राउ गरेको घटनाप्रति अन्तर्राष्ट्रिय हिन्दु परिषद् तथा राष्ट्रिय बजरंग दल, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार, धर्म, संस्कृति तथा आस्थाको पक्षमा आवाज उठाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गरेको छ।
हिन्दु धर्म तथा धार्मिक पहिचानको पक्षमा वकालत गरेकै कारण कुनै राजनीतिक वा सामाजिक व्यक्तिलाई पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारमाथिको हस्तक्षेप भएको संगठनको धारणा छ।
विज्ञप्तिमा शान्तिपूर्ण रूपमा आफ्नो विचार प्रस्तुत गर्दै आएका नेता विजय प्रकाश निशादमाथि गरिएको पक्राउलाई राजनीतिक प्रतिशोध प्रेरित तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको कदमका रूपमा चित्रण गरिएको छ।
यस्ता गतिविधिले राज्यप्रति नागरिकको विश्वास कमजोर पार्न सक्ने चेतावनी समेत दिइएको छ। अन्तर्राष्ट्रिय हिन्दु परिषद् तथा राष्ट्रिय बजरंग दल, नेपालले नेपाल सरकार र सम्बन्धित निकायसँग विजय प्रकाश निशादलाई अविलम्ब बिना सर्त रिहा गर्न जोडदार माग गरेको छ।
साथै नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न तथा राजनीतिक आस्थाका आधारमा दमन नगर्न सरकारलाई आग्रह गरिएको छ। जारी विज्ञप्तिमा राष्ट्रिय बजरंग दलका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र मिश्रको हस्ताक्षर रहेको छ।

