४ जेठ, काठमाडौं । नागरिकको अपेक्षाअनुसार काम गर्न सरुवा भएका एसपी-डीएसपीलाई आईजीपी दानबहादुर कार्कीले निर्देशन दिएका छन् ।
परम्परागत पुलिसिङभन्दा पनि नवीनतम सोच र कार्यशैली अपनाई नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवं प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिए ।
हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका एसपी-डीएसपीलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।
सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवं इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी संगठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले बहन गर्न कार्कीले निर्देशन दिए ।
संगठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि भातृत्वभाव एवं सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवं कानुनसम्मत कार्य गर्न सरुवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई उनको निर्देशन थियो ।
आफ्नो क्षेत्रका सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवं रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनले बताए ।



