१ जेठ, काठमाडौं । भावी प्रधानन्यायाधीशमा सिफारिस डा.मनोजकुमार शर्मा र सर्वोच्च अदालतका सहकर्मी न्यायाधीशहरूबीचको सम्बन्धमा गम्भीर दरार उत्पन्न भएको छ ।
प्रधानन्यायाधीशमा सिफारिस भएको भोलिपल्टै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहितका सहकर्मीहरूसँग इजलास गठनको गोला तान्ने क्रममा विवाद भएपछि शर्मा विगत एक सातादेखि इजलासमा बस्नुभएको छैन । सर्वोच्च अदालतमा नियमित हाजिर भए पनि उहाँले गोला तान्न अस्वीकार गर्दै आउनुभएको छ, जसका कारण प्रधानन्यायाधीशको सिफारिसपछि उहाँले एउटा पनि मुद्दाको सुनुवाइ गर्नुभएको छैन ।
वरीयतामा चौथो नम्बरमा रहेका शर्मालाई सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्चभित्रको आन्तरिक कलह सतहमा आएको हो। कामु प्रधानन्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पन्छाएर शर्मालाई अघि सारिएपछि न्यायलयमा ुसिनियर(जुनियरुको विवाद चर्किएको छ ।
विपक्षी दल र नेपाल बार एसोसिएसनले यसलाई सरकारको प्रत्यक्ष हस्तक्षेप र विधिको उल्लंघन भनेका छन् । यद्यपि, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भने यसअघिका नियुक्तिहरू ‘दलको कोटा’ बाट भएको आरोप लगाउँदै सरकारको कदमको बचाउ गरिरहेको छ ।
हाल संसदीय सुनुवाइ समितिमा शर्माविरुद्ध ५ वटा उजुरी परेका छन्, जसमाथि जेठ ५ गतेदेखि सुनुवाइ सुरु हुनेछ । १५ सदस्यीय समितिमा प्रधानमन्त्री बालेन्द्र शाह सम्बद्ध दल रास्वपाको बहुमत रहेकाले शर्माको नाम अनुमोदन हुने सम्भावना बलियो छ । समितिबाट नाम पारित भएमा उहाँले ६ वर्षका लागि न्यायपालिकाको नेतृत्व सम्हाल्नुहुनेछ ।
तर, आफ्नै सहकर्मीहरूको असहयोग र बारको विरोधका बीच शर्मालाई आगामी दिनमा इजलास सञ्चालन र न्यायपालिकाको साख जोगाउन निकै चुनौतीपूर्ण हुने देखिन्छ ।



