काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक बिकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । उहाले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको उल्लेख गर्दै सोह्रौँ योजनामा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्ने भन्दै यसका लागि नीतिगत त्रुटि हटाउनुपर्ने उहाले बताउनुभयो । उहाले जलविद्युत् र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने भन्दै उक्त क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले परम्परागत ढंगले नभई परिवर्तित अवस्थालाई मध्यनजर गर्दै योजनालाई अन्तिम रुप दिनुपर्ने सुझाव दिनुभयो । प्रदेशलाई स्रोत र साधनबाट सबल नबनाइ मुलुकको समृद्धि हुन नसक्ने उहाले बताउनुभयो । उहाँले मुलुकको विकासका लागि योजनाबद्ध विकास अवधारणा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आयोगको पुनःसंरचना गरेर कानुनीरुपमा थप सलब बनाएर जानुपर्ने धारणा राख्नुभयो । आयोगलाई सबल बनाउन सकेको खण्डमा मात्र १६औँ योजनाका रणनीति र कार्यानीति कार्यान्वयनका लागि सहज हुने उहाको भनाइ छ । कार्यक्रममा बिभिन्न दलका नेता, सांसद र सरोकारवालाहरुलाई सोह्रौँ योजनाका बिषयमा छलफल गर्न बोलाइएको थियो ।



