२९ बैशाख, वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएकै रात वीरगञ्जमा एक किशोर झुन्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार “नतिजा सोचेजस्तो नआएपछि उत्पन्न निराशाका कारण पर्साको बहुदरमाई नगरपालिका–५ घर भई हाल वीरगञ्ज –११ श्रीपुर बस्ने १५ वर्षीय शन्नी पटेलले आत्महत्या गरेका हुन्।”
वीरगञ्जको पिपरास्थित नृसिंह माध्यमिक विद्यालयमा अध्ययनरत शन्नी पटेल सोमबार सार्वजनिक नतिजापछि निकै चिन्तित र तनावमा थिए । पारिवारिक स्रोतका अनुसार सोमबार राति ११:३० बजेतिर परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै थिए । तर, परिवारसँगै रहेका उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेर भित्रबाट ढोका थुनेका थिए ।
“हामीले सम्झाउने प्रयास गर्दागर्दै उनी कोठामा पसेर ढोका बन्द गरे, फलामको ढोका भएकाले तत्काल फुटाउन सकिएन,” परिवारका एक सदस्यले रुँदै भने, “ढोका फोडेर भित्र पस्दा उनले तन्नाको पासो लगाइसकेका थिए ।”
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो । प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप अनुसन्धान भइरहेको जनाएको छ।
नतिजा अन्तिम होइन : विज्ञ
एसईईको नतिजापछि हरेक वर्ष यस्ता दुःखद घटनाहरू दोहोरिने गरेका छन् । शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजालाई जीवनको अन्तिम सफलता वा असफलतासँग जोडेर नहेर्न आग्रह गरेका छन् । “एउटा परीक्षाको पानाले कसैको भविष्य र क्षमताको पूर्ण मापन गर्न सक्दैन,” शिक्षक दीपक शाक्यले भने, “यस्तो संवेदनशील समयमा अभिभावकले छोराछोरीलाई तुलना गर्ने वा दबाब दिनेभन्दा पनि उनीहरूको भावना बुझिदिनु आवश्यक छ।”
सरकारले यसै वर्षदेखि ‘एनजी’ (नन-ग्रेडेड) भएका विद्यार्थीहरूका लागि तत्कालै पूरक परीक्षाको व्यवस्था गरेको सन्दर्भमा, एउटा मौका गुम्दैमा जीवन नै समाप्त गर्ने निर्णय नगर्न सरोकारवालाहरूले परीक्षार्थीहरूलाई अपिल गरेका छन् ।



