वीरगञ्ज, २६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रतिनिधि सभा सदस्य बुद्धी प्रसाद(हरी ) पन्त को नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीको पर्सा जिल्ला समितिद्वारा जारी प्रेस विज्ञप्तिमा “Routine of Madhesh Pradesh” लगायत केही अनलाइन प्लेटफर्ममा प्रकाशित सामग्री कपोलकल्पित, भ्रमपूर्ण, तथ्यहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको दाबी गरिएको छ।
विज्ञप्तिअनुसार अनलाइनमा उल्लेख गरिएको व्यवसाय तथा व्यावसायिक संस्थासँग सांसद पन्तको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। बिना प्रमाण कुनै व्यक्तिको नाम, तस्वीर तथा सार्वजनिक छविलाई जोडेर गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य भएको पार्टीको भनाइ रहेको छ।
रास्वपाले यस्ता आधारहीन सामग्रीले सांसद पन्तको व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान तथा राजनीतिक जीवनमा गम्भीर क्षति पुर्याउने प्रयास गरेको उल्लेख गर्दै सामग्री निर्माण, प्रकाशन, शेयर तथा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई तत्काल उक्त सामग्री हटाउन, सत्यतथ्यविहीन प्रचार रोक्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।
साथै, गलत मनसायका साथ नियोजित रूपमा गरिएको कार्यविरुद्ध नेपालको संविधान, विद्युतीय कारोबार ऐन, मुलुकी अपराध संहिता तथा प्रचलित कानुनबमोजिम सम्बन्धित व्यक्ति, संस्था र माध्यमविरुद्ध कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको पनि विज्ञप्तिमा जनाइएको छ।
