बारा । यस वर्ष प्रतिकूल मौसमका कारण जिल्लाको गहुँ उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार अनुकूल मौसम नहुँदा जिल्लामा गहुँको उत्पादन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घटेको हो ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा २९ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ खेतीबाट अपेक्षित उत्पादन प्राप्त हुन नसकेको जानकारी दिए । उनका अनुसार, प्रतिहेक्टर ३.१ मेट्रिक टन गहुँ उत्पादन हुनुपर्ने लक्ष्य रहेकामा यस वर्ष जम्मा २.४८ मेट्रिक टन मात्र उत्पादन भएको छ। यस वर्ष कुल ७१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा १७ हजार ९८० मेट्रिक टनले कम हो ।
उत्पादनमा आएको गिरावटले जिल्लाको कृषि अर्थतन्त्रमा समेत असर पारेको छ । कृषि अर्थविज्ञ गणेश महराका अनुसार, यस वर्ष उत्पादित गहुँको गुणस्तर स्तरीय रहेकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले किन बेच भइरहेको छ । तर, उत्पादनमा आएको ठूलो कमीका कारण समग्र आर्थिक लाभ भने खुम्चिएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा ९६ हजार ६२० मेट्रिक टन गहुँ उत्पादन भएको थियो, जसको मूल्य चार अर्ब दुई करोड ५६ लाख ६० हजार रुपैयाँ बराबर थियो । यस वर्ष उत्पादनमा भएको गिरावटले किसानहरूलाई ठूलो आर्थिक धक्का लागेको छ ।
समयमै मलखादको उपलब्धता र प्रविधिमैत्री खेतीतर्फ उन्मुख नहुँदा र मौसमको भर पर्नुपर्ने बाध्यताका कारण जिल्लाको गहुँ उत्पादन हरेक वर्ष जोखिममा पर्ने गरेको छ ।



