वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट हुने वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा यस नाका हुँदै रू ७९ अर्ब ५४ करोड मूल्य बराबरको स्वदेशी उत्पादन विदेशतर्फ निकासी भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५ प्रतिशतले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, गत आर्थिक वर्षको नौ महिनामा रू ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । तुलनात्मक रूपमा यस वर्ष रू १० अर्ब १९ करोड बढीको व्यापार भएको छ ।
वीरगञ्ज नाकाबाट निकासी हुने वस्तुहरूमा प्रशोधित तेलजन्य पदार्थको हिस्सा सबैभन्दा बढी छ । तथ्यांकअनुसार, चालू आर्थिक वर्षको नौ महिनामा रू ४३ अर्ब ६१ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । गत वर्षको सोही अवधिमा रू ३६ अर्ब ६२ करोडको भटमासको तेल निर्यात भएको थियो ।
त्यस्तै, प्रशोधित पाम तेलको निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको नौ महिनामा जम्मा ५९ करोडको मात्रै पाम तेल निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू ५ अर्ब २४ करोड पुगेको छ । यसैगरी, फलफूलको जुस पनि ५ अर्ब ८४ करोड मूल्यको निर्यात भएको छ, जुन गत वर्ष ५ अर्ब ७७ करोड थियो ।
समग्रमा निर्यात वृद्धि भए पनि केही वस्तुको निकासी भने खुम्चिएको छ। चालू आर्थिक वर्षको नौ महिनामा रू ५ अर्ब ५ करोड मूल्यको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिमा रू ६ अर्ब ६१ करोड थियो।
वीरगञ्ज नाकाबाट निकासी हुने अन्य प्रमुख वस्तुहरूमा कपडा र धागो रहेका छन् । भन्सार कार्यालयका अनुसार, नौ महिनाको अवधिमा रू २ अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडा र रू १ अर्ब ९४ करोड मूल्य बराबरको सिन्थेटिक यार्न ९धागो० निर्यात भएको छ ।
पछिल्ला महिनाहरूमा देखिएको निर्यातको यो वृद्धिले राष्ट्रिय अर्थतन्त्र र स्वदेशी उद्योगहरूको व्यापारिक गतिविधिमा सुधार भइरहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्। वीरगञ्ज नाकालाई व्यापारिक दृष्टिकोणले अझ बढी सहज र व्यवस्थित बनाउन सके निर्यात अझ बढाउन सकिने सम्भावना देखिएको छ ।



