७ वैशाख,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणलाई थप सुदृढ बनाउने उद्देश्यले उद्धार केन्द्र सञ्चालनमा ल्याइएको छ। ३१ औँ वन्यजन्तु सप्ताह २०८३ को अवसर पारेर आयोजित कार्यक्रममा सरोकारवालासँग अन्तरक्रिया गर्दै संरक्षण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो।
“सुरक्षित मानिस, संरक्षित वन्यजन्तु” भन्ने मूल सन्देशसहित स्थापना गरिएको उद्धार केन्द्रले घाइते, बस्तीमा छिरेका वा जोखिममा परेका वन्यजन्तुको तत्काल उद्धार, उपचार र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले संरक्षण अभियानमा स्थानीय समुदायको बढ्दो सहभागिता सकारात्मक संकेत भएको उल्लेख गर्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।
उद्धार केन्द्र (हात्तीसार) को उद्घाटन राजन पौडेलले गरेका हुन्। उनले स्थानीय तह र निकुञ्जबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै आवश्यक परे नगर प्रहरी र पशु चिकित्सकमार्फत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध सिकार नियन्त्रण तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए। साथै, सञ्चारकर्मीहरूलाई तथ्यपरक र जिम्मेवार सामग्रीमार्फत संरक्षण सन्देश जनस्तरसम्म पुर्याउन आग्रह गरिएको थियो।
अन्तरक्रियाअघि सञ्चारकर्मीहरूलाई निकुञ्ज क्षेत्रको स्थलगत अवलोकन गराइएको थियो, जसले संरक्षणका प्रयास र चुनौतीबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुगेको आयोजकले जनाएको छ।



