७ वैशाख,काठमाडौं । जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। एनएचकेका अनुसार भूकम्प सानरिकु तटबाट करिब १०० किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा मापन गरिएको हो।
जापानी भूकम्पीय स्केल (०–७) अनुसार भूकम्पको तीव्रता ५+ मा रेकर्ड गरिएको जनाइएको छ। भूकम्पपछि जापानी प्रधानमन्त्री साने ताकाचीले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल अग्लो स्थानतर्फ सर्न आग्रह गरेकी छन्।
भूकम्पपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रका लागि सुनामी चेतावनी तथा सल्लाह जारी गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुनामीको पहिलो छाल इवाते प्रिफेक्चरमा पुगेको छ, जहाँ मियाको बन्दरगाहमा ४० सेन्टिमिटर उचाइको छाल मापन गरिएको छ।
यसैबीच, आओमोरी प्रिफेक्चरको तटबाट करिब ५० किलोमिटर टाढा पनि सुनामी देखिएको एनएचकेले जनाएको छ।
जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो र इवाते क्षेत्रका प्रशान्त तटीय भागमा ३ मिटर उचाइसम्मका सुनामी छाल पुग्न सक्ने अनुमान गरेको छ।
भूकम्पपछि ओनागावा आणविक ऊर्जा केन्द्रको पनि निरीक्षण भइरहेको छ। अधिकारीहरूले उक्त केन्द्रमा कुनै क्षति पुगेको छ वा छैन भन्नेबारे मूल्यांकन गरिरहेका छन्।



