७ बैशाख, काठमाडमौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई अध्यागमन अधिकृतले नेपाली नागरिकको राहदानीमा कानुनविपरीत ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखेपछि उनीहरू कारबाहीमा परेका छन् ।
अध्यागमन विभागले आफ्ना कर्मचारीहरूले विभागीय नीति र प्रचलित कानुनको धज्जी उडाएको निष्कर्ष निकाल्दै उनीहरूलाई तत्कालका लागि विमानस्थलको जिम्मेवारीबाट हटाएको हो । विभागले यसअघि नै गठन गरेको छानबिन समितिको प्रारम्भिक अध्ययनका आधारमा ती कर्मचारीहरूमाथि थप कडा कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
नीतिविपरीतको ‘गैरकानुनी’ अभ्यास
नेपाली नागरिकलाई विदेश प्रस्थानको अनुमति दिँदा राहदानीमा कुनै पनि किसिमको सर्त तोक्ने व्यवस्था नेपालको अध्यागमन कानुनमा छैन । तर, ती अधिकृतहरूले प्रस्थान छापसँगै हस्तलिखित रूपमा रोजगारीमा बन्देज लगाउने व्यहोरा लेखेपछि सामाजिक सञ्जाल र कूटनीतिक वृत्तमा यसको चर्को आलोचना भएको थियो ।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार नेपाली नागरिकलाई कुनै पनि सर्त राखेर विदेश पठाउने विभागको कुनै नीति छैन, त्यसैले यो कार्य पूर्णतः स्वेच्छाचारी र गैरकानुनी हो ।
थप छानबिन र विभागको प्रतिबद्धता
घटना बाहिरिएलगत्तै वैशाख ३ गते नै छानबिन समिति गठन गरेको विभागले दोषी देखिएका दुवै अधिकृतको नाम भने सार्वजनिक गरेको छैन । यद्यपि, उनीहरूलाई विभागीय कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने विभागले स्पष्ट पारेको छ । सोमबार जारी विज्ञप्तिमा विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई प्रचलित ऐन, नियम र परिपत्रको पूर्ण पालना गर्न सचेत गराएको छ । यस्ता हर्कतले राज्यको छविमा समेत आँच पुग्ने भन्दै विभागले आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यात्रीहरूमा अन्योल र सास्ती
अध्यागमन अधिकृतहरूको यो अनपेक्षित कार्यले यूएई जान लागेका कैयौँ नेपाली यात्रीहरू अन्योलमा परेका छन्। राहदानीमा लेखिएको यस्तो व्यहोराले गन्तव्य मुलुकमा पुगेपछि कानुनी अड्चन आउन सक्ने त्रास यात्रीहरूमा देखिएको छ ।
विभागले जिम्मेवारीबाट हटाएका दुई कर्मचारीमाथि हुने अन्तिम कारबाहीले यस्ता प्रवृत्तिको अन्त्य हुने र अध्यागमन प्रशासनप्रति नागरिकको विश्वास पुनः स्थापित हुने अपेक्षा गरिएको छ ।



