काठमाडौं । अविरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान ४:३० बजे बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ स्थित गिम्दीमा माथिबाट लेदोसहितको पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको प्रक्षेपण गरेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको थियो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
वर्षा र पहिरोको निरन्तरता तथा जोखिमको प्रकृति मूल्याङ्कन गरी आवश्यकताअनुसार दिउँसोको समयमा समेत सवारीसाधन रोक्न सकिने गरी जिल्ला प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको छ । यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि छिमेकी जिल्लाहरू सिन्धुली र भक्तपुरका प्रहरी युनिटहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको प्रशासनले जनाएको छ ।
साथै, नदी किनार तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत रहन आग्रह गर्दै स्थानीय सञ्चारमाध्यम मार्फत निरन्तर जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह भइरहेको छ। सडकमा लेदो र पहिरो पन्छाउने कार्य जारी रहे पनि वर्षा नरोकिएकाले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्रै दिउँसोको समयमा यात्रा तय गर्न प्रहरीले सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ ।
