काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसममा उल्लेखनीय फेरबदल ल्याएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका विभिन्न भू-भागमा बदली, वर्षा र हावाहुरीको मिश्रित प्रभाव देखिएको छ।
शनिबारको मौसम पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अहिले साधारणतया बादल लागेको छ। अन्य पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा देखिएको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई क्षेत्र र अन्य पहाडी भेगमा आंशिक बदली हुने सम्भावना रहे पनि बाँकी तराई क्षेत्रमा भने घाम लाग्ने देखिन्छ। महाशाखाका अनुसार आज विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुन सक्ने पूर्वाुनमान गरिएको छ।
यस्तै, कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले पहाडी भेगका बासिन्दालाई सतर्क रहन भनिएको छ।
तराई क्षेत्रमा भने वर्षा भन्दा पनि हावाहुरीको जोखिम बढी देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा आज तीव्र वेगको हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
हावाहुरीले कृषि, यातायात र जनजीवनमा सामान्य असर पार्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। पहाडमा वर्षा र तराईमा हावाहुरीको यो दोहोरो प्रभावले देशका केही स्थानको तापक्रममा समेत सामान्य गिरावट आउन सक्ने देखिएको छ।



