काठमाडौं । झण्डै पाँच दशकपछि चन्द्रमाको यात्रामा निस्किएको नासाको आर्टिमिस–२ अभियान सफलतापूर्वक सम्पन्न भएको छ । १० दिन लामो चन्द्रमाको परिक्रमापछि ४ जना अन्तरिक्ष यात्री आज बिहान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएका नासाले जनाएको छ । अमेरिकी नौ सेनाको हेलिकप्टरबाट यात्रीहरूलाई जमिनमा ल्याइएको छ ।
त्यसपछि उनीहरूको स्वास्थ्य गरीक्षण गर्दा सामान्य रहेको बीबीसीले जनाएको छ । ऐतिहासिक मिशनको नेतृत्व कमाण्डर रीड वाइजम्यानले गर्नुभएको थियो भने चालक दलमा पाइलट भिक्टर ग्लोभर, मिशन विशेषज्ञ क्रिस्टिना कोच र क्यानेडियन स्पेस एजेन्सीका जेरेमी ह्यान्सन सामेल थिए ।
मिसनको अन्त्यसँगै अन्तरिक्षयात्रीहरूको सुरक्षित अवतरणलाई प्रत्यक्ष प्रसारणमार्फत विश्वभर हेरिएको छ । ऐतिहासिक क्षणको प्रत्यक्ष अवलोकनका लागि सान डिएगोस्थित एयर एन्ड स्पेस म्युजियममा हजारौ मानिसहरू उपस्थित भएका छन् ।
आर्टेमिस–२ मिसनका क्रममा अन्तरिक्षयात्रीहरूले चन्द्रमाको कक्षबाट दुर्लभ सूर्यग्रहण अवलोकन गरेका थिए । यस अवधिमा टोलीले हजारौं तस्बिर तथा महत्वपूर्ण वैज्ञानिक तथ्यांक संकलन गरेको छ । खिचिएका ७ हजारभन्दा बढी तस्वीरले चन्द्र सतहका क्रेटर तथा संरचनाबारे महत्त्वपूर्ण अध्ययन गर्न मद्दत मिल्ने नासाले जनाएको छ ।
यो मिशनको सफलतासँगै नासाले सन् २०२७ मा प्रक्षेपण हुने आर्टिमिस–३ को तयारी शुरू गर्नेछ, जसको अन्तिम उद्देश्य चन्द्रमामा स्थायी उपस्थिति जनाउँदै भविष्यमा मंगल ग्रहसम्मको यात्रा तय गर्नु रहेको छ ।



