वीरगञ्ज । अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कॉन) वीरगञ्जले चैत्र २८ गते ९अप्रिल ११, २०२६० दिउँसो १ बजे तेस्रो पटक “श्री जगन्नाथ रथ यात्रा २०८२” आयोजना गर्ने घोषणा गरेको छ।
वैदिक परम्पराअनुसार भगवान् जगन्नाथ, बलदेव र सुभद्राको भव्य रथ यात्रा निकालिने यस पवित्र पर्वमा भक्तजनलाई दर्शन र आशीर्वाद प्राप्त हुने विश्वास गरिएको छ। आयोजकका अनुसार यस यात्राले समाजमा भक्ति, एकता र समानताको सन्देश फैलाउने उद्देश्य राखेको छ।
कार्यक्रममा भव्य रथ यात्रा, भजन–कीर्तन, आध्यात्मिक प्रवचन तथा हजारौँ भक्तजनका लागि निःशुल्क प्रसाद वितरण हुने बताइएको छ। रथ यात्रा गहवा माई पार्कबाट सुरु भएर मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन हुनेछ।
आयोजनाको व्यवस्थित सञ्चालनका लागि आकर्षक रथ निर्माण, ध्वनि प्रणाली, ट्राफिक व्यवस्थापन, स्वयंसेवक परिचालन र सुरक्षा प्रबन्धलाई प्राथमिकता दिइएको छ। कार्यक्रमको कुल अनुमानित लागत करिब ५ लाख ५० हजार रुपैयाँ रहेको छ।
यस वर्ष पर्सा, बारा, रौतहट र भारतको रक्सौल क्षेत्रबाट ४ हजारदेखि ६ हजारसम्म श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कार्यक्रमलाई सुरक्षित बनाउने प्रबन्ध गर्ने जनाइएको छ।
यस सम्बन्धमा आयोजित पत्रकार सम्मेलन हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा इस्कॉन वीरगञ्जका मुक्तिनाथ साह, आयुष गिरि, गौर्सभन दास र श्याम मनोहर साह उपस्थित थिए।
