भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्केट (बिस्कास्जा) त्रा आजदेखि शुरू हुँदैछ । साँझ तौमरीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको शुरुवात गरिन्छ । अब भक्तपुर ९ दिन ८ रात जात्राको रौनकमा झुम्ने छ ।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरबार, निशान राख्ने गर्दछ ।
बिस्केट जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ-आफ्नो टोलतर्फ लैजाने परम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो ।
यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पुर्याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।
जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुल ढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः(लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।



