वीरगञ्ज । जनकपुर मालपोत कार्यालयबाट सर्वसाधारणलाई ठगी गरेको आरोपमा पाँच जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा कमला नगरपालिका–८ का ४२ वर्षीय नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय राम बिनोद साह, महोत्तरी पिपरा गाउँपालिका स्थायी घर भई हाल जनकपुर उपमहानगरपालिका–१३ बस्दै आएका ४० वर्षीय बिराजी यादव, सबैला नगरपालिका–११ का ४४ वर्षीय जय गोविन्द यादव र जनकपुर उपमहानगरपालिका–२ कदमचोकका ३० वर्षीय ज्ञानदेव साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



