काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘आर्टिमिस–२’ मिसन अन्तर्गत चार जना अन्तरिक्षयात्री पृथ्वीको कक्षबाट चन्द्रमातर्फ प्रस्थान गरेका छन्।
अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको अन्तरिक्षयानले २४ घण्टासम्म पृथ्वीको परिक्रमा गरेपछि इन्जिन परीक्षणको महत्त्वपूर्ण चरण पूरा गर्दै चन्द्रमातर्फको यात्रा सुरु गरेको हो।
बीबीसीका अनुसार ‘आर्टिमिस–२’ ले ‘इन्जिन बर्न’ चरण सफलतापूर्वक पार गरेपछि चन्द्रमातर्फ अघि बढेको हो। यात्रामा रहेका क्यानाडेली अन्तरिक्षयात्रीले पृथ्वीलाई पछाडि छोड्दै देखिएको दृश्यलाई अविस्मरणीय अनुभवका रूपमा वर्णन गरेका छन्।
उक्त अन्तरिक्षयान अमेरिकी समयअनुसार सोमवार चन्द्रमाको नजिक पुग्नेछ। १० दिनको यस यात्रामा अन्तरिक्षयात्रीहरूले चन्द्रमामा अवतरण नगरी त्यसको परिक्रमा मात्र गर्ने योजना बनाएका छन्। मिसन अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण हुने जनाइएको छ।
यो मिसन मानवलाई पुनः चन्द्रमातर्फ लैजाने ऐतिहासिक योजनाको महत्वपूर्ण चरणका रूपमा लिइएको छ। नासाका अनुसार यसले भविष्यमा मानवलाई चन्द्रमामा अवतरण गराउने तथा त्यसपछि मङ्गल ग्रहसम्मको यात्राको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
यसअघि सन् १९७० को दशकमा सञ्चालन गरिएको ‘अपोलो’ मिसनमार्फत १३ जना अन्तरिक्षयात्रीले चन्द्रमामा पाइला टेकि सकेका छन्। यस ऐतिहासिक यात्रामा सहभागी हुने अन्तरिक्षयात्रीहरूमा अमेरिकी रिड वाइजमन, क्रिस्टिना कोच, भिक्टर ग्लोभर तथा क्यानडेली जेरेमी ह्यान्सन रहेका छन्।



