सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । गोडैता नगरपालिका-५ स्थित रामवनमा रहेको एक आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर गाउँपालिका-६ सिसौट निवासी विनोद दासकी १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन् । नातामा उनीहरू दिदी-बहिनी हुन् ।
स्थानीय बासिन्दाले बिहान आँपको रुखमा दुई किशोरीलाई झुन्डिएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। “दुवै किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्, घटनाको प्रकृति र कारणबारे हामीले गम्भीरतापूर्वक अनुसन्धान सुरु गरिसकेका छौँ,” डीएसपी राईले भने ।
यो घटना आत्महत्या हो वा अन्य कुनै कारण, भन्ने विषयमा पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। घटनाका कारण सिसौट गाउँ र वरपरको क्षेत्र अहिले शोकमा डुबेको छ ।



