वीरगञ्ज । पर्साको जंगल क्षेत्रमा अवैध काठ तस्करी नियन्त्रण गर्ने क्रममा गस्ती टोलीले काठसहित दुई मोटरसाइकल बरामद गरेको छ। सबैया साझेदारी वन उपभोक्ता समूह र सबैया सब डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले हिजो साँझ नियमित गस्तीका क्रममा शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा १४.३२ क्यु फिट परिमाणको ३ थान सालको काठ फेला पारेको हो।
काठ ओसारपसारमा प्रयोग गरिएका ना.१८प १३३७ नम्बरको होन्डा साइन र प्रदेश २-०३-००४प ६८६३ नम्बरको हिरो ग्ल्यामर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जनाइएको छ। गस्ती टोलीलाई देखेपछि संलग्न व्यक्तिहरू काठ र मोटरसाइकल छाडेर फरार भएका थिए।
बरामद गरिएको काठ तथा सवारी साधन थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सबैया सब डिभिजन वन कार्यालयमा बुझाइएको छ। वन ऐन २०७६ अनुसार वन क्षेत्रबाट अवैध रूपमा काठ कटान, संकलन, ओसारपसार तथा बिक्री वितरण गर्नु दण्डनीय अपराध हो। यस्तो कसुरमा संलग्नलाई जरिवाना, कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।
सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलमका अनुसार घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको छ। साथै, वन संरक्षण तथा अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्तीलाई अझ प्रभावकारी बनाइने र स्थानीय बासिन्दालाई पनि सहकार्य गर्न आग्रह गरिएको छ।



