काठमाडौं । कोलम्बियाको दक्षिण-पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । ११० जना सवार रहेको उक्त विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार विमानमा रहेका यात्रुमध्ये २० जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई तत्कालै उद्धार गरी नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। घाइतेहरूको अवस्था नाजुक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।
दुर्घटनाको समयमा विमान अवतरणको तयारीमा रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि दुर्घटनाको ठोस कारण भने अझै खुल्न सकेको छैन । कोलम्बियाली सरकारले घटनाको उच्चस्तरीय अनुसन्धानका लागि एक टोली गठन गरेको छ ।
रक्षा मन्त्रालयले विमान प्राविधिक समस्याका कारण दुर्घटना भएको हो या मौसमको खराबीले भन्नेबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ । घटनास्थलमा उद्धार टोलीहरू अझै खटिएका छन् र विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । यो दुर्घटनालाई कोलम्बियाको सैन्य उड्डयन इतिहासकै एक ठूलो र दुखद घटनाका रूपमा लिइएको छ ।
