वीरगञ्ज । प्रविधिको तीव्र विकाससँगै बढ्दै गएको साइबर अपराधबाट विद्यार्थीलाई सचेत गराउने उद्देश्यले वीरगञ्जमा साइबर क्राइम सम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न गरिएको छ। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा वडा प्रहरी कार्यालय विर्ता को संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त
कार्यक्रममा विभिन्न विद्यालयका करिब १२० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा बोल्दै हरी खेतान बहुमुखी क्याम्पसका सल्लाहकार तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ले पछिल्लो समय प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गएको बताए।
उनले माध्यमिक तहका विद्यार्थीहरू, विशेषगरी कक्षा ११ र १२ बाटै साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता बढ्दै गएको उल्लेख गरे।
खेतानले विद्यार्थीहरू प्रविधिको सबैभन्दा बढी प्रयोग गर्ने समूह भएकाले उनीहरूलाई साइबर सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी तथा व्यक्तिगत डाटा सुरक्षाबारे जानकारी हुनु अत्यन्त आवश्यक रहेको बताए।
उनले साइबर अपराध जस्ता संवेदनशील विषयमा विद्यार्थीहरू स्वयं सचेत रहनुका साथै आफ्ना साथीभाइ र समुदायलाई पनि सचेत गराउनुपर्नेमा जोड दिए। साथै समुदायमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गरे।
तालिमका क्रममा प्रहरीले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट जोगिने उपाय तथा कानुनी व्यवस्थाबारे विद्यार्थीहरूलाई जानकारी गराएको थियो।




