बारा । प्रहरीले आठ हजारभन्दा बढी पिस लागुऔषधसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–३ गम्हरीया बस्ने २० वर्षीय अनिल बैठा रहेका छन् ।
प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित मौलापुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.०३-००१ ख २७०१ नम्बरको यात्रुबाहक बस चेकजाँच गरेको थियो ।
बसमा बैठाले लुकाएर लैजाँदै गरेको अवस्थामा आठ हजार ४६५ पिस लागुऔषध डाइजोपाम, नाइट्राभेट र नोरफिन बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए । पक्राउ परेका बैठालाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताए ।

