काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तित व्यवस्थालाई बलियो बनाउदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वप्रधानमन्त्री तथा संविधानसभा सदस्य स्वर्गीय सूर्य बहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकको परिवर्तनलाई उल्टाउने प्रयास भइरहेको भन्दै अहिलेको व्यवस्थालाई बलियो बनाउदै सर्वस्वीकार्य बनाउनुपर्ने बताउनुभएको हो ।
राजतन्त्रलाई हटाएर मुलुकमा गणतन्त्र स्थापीत गरेपछि केहि मान्छेहरु राजा फर्काउन भन्दै हिडिरहेको उल्लेख गर्दै देउवाले राजा फर्काउने कुरा सम्भव नरहेको धारणा राख्नुभयो । सभापति देउवाले दलहरुबीच सहमति र सहकार्यका साथ संविधानमा देखिएका कमी कमजोरीलाई सुधार गर्न सकिने बताउनुभयो । उहाले मुलुकको परिवर्तनमा स्वर्गीय सूर्य बहादुर थापाले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो ।
