वीरगञ्ज । केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक ठगी अभियोगीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ का २३ वर्षीय प्रविण चौरसियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
प्रविण चौरसिया गत भदौ २३ र २४ गते देशभर भएको नवयुवाहरूको आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए। पर्सा प्रहरीले पूर्वसूचनाको आधारमा उनलाई बिहीबार दिउँसो वीरगञ्ज महानगरपालिका–१५ स्थित रामनगर चोकबाट पक्राउ गरेको हो।
ठगी मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै ५ वर्ष ६ महिनाको कैद र ८७ हजार ५०० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। पक्राउ परेपछि उनलाई कैद भुक्तानका लागि वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएको छ।



