काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३७ जना कर्मचारीहरूको सरुवा गरेको छ । प्राधिकरणले सुपरभाइजर, इलेक्ट्रेसियन, फोरमेनदेखि निर्देशक, प्रबन्धक, उप–प्रबन्धक तथा लेखा समूहका कर्मचारीसम्मको सरुवा गरेको हो ।
सरुवामा उत्पादन, प्रसारण, वितरण, विद्युत व्यापार, आयोजना व्यवस्थापन तथा प्रादेशिक कार्यालयहरू समेटिएका छन् ।सरुवा सूचीअनुसार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती लगायत प्रादेशिक कार्यालयका कर्मचारीहरूलाई कोहलपुर ग्रिड शाखा, फुठुङ सबस्टेशन, काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजना, विभिन्न १३२ केभी र ४०० केभी प्रसारण लाइन आयोजना तथा जलविद्युत कम्पनीहरूमा जिम्मेवारी तोकिएको छ ।
उच्च तहमा पनि हेरफेर गरिएको छ । प्राविधिक निर्देशकहरूलाई विद्युत व्यापार विभाग, उच्च तथा मध्यम भोल्टेज ग्रिड विकास विभाग, ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग र आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत विभिन्न आयोजनाको प्रमुख तथा संयोजकको जिम्मेवारी दिइएको छ ।
केही प्रबन्धक तथा उप–प्रबन्धकलाई तामाकोशी, मोदी, त्रिशूली लगायत जलविद्युत कम्पनीहरूमा सरुवा गरिएको छ । लेखा समूहअन्तर्गतका कर्मचारीहरूलाई बजेट तथा ट्रेजरी महाशाखा, केन्द्रीय लेखा महाशाखा, वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना, इएसआरआईपी लगायतका आयोजनामा खटाइएको छ ।
उच्च भोल्टेज ग्रीड विकास विभागको प्रमुख निर्देशक (प्राविधिक) थर्कबहादुर थापाको विद्युत व्यापार विभागमा सरुवा गरी त्रिशूली ३बी हब २२० के.भी. सबस्टेशन आयोजना प्रमुख, चिलिमे त्रिशुली २२० केभी प्रसारण लाइन आयोजनाको संयोजक, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी. प्रसारण लाइन आयोजनाको समेत प्रमुखको रुपमा सरुवा गरेको छ ।
त्यस्तै, उत्तरगंगा पावर कम्पनी लिमिटेडका निर्देशक रामकुमार यादवको तामाकोशी जलविद्युत कम्पनीको प्रमुखको रूपमा सरुवा गरेको छ ।
