रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली नोटसहित तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको नियमित गस्ती तथा चेकजाँच टोलीले मंगलबार साँझ करीब ४ बजे एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भारतको पूर्वी चम्पारण जिल्लास्थित कुण्डवा चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जयप्रकाश कुमार, रौतहट देवाही–गोनाही नगरपालिका–४ निवासी २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउ परेका छन्।
उनीहरू सवार रहेको BR 05 AT 0983 नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ प्रवेश गर्दा चेकजाँचका क्रममा प्रहरीले शंका लागेर विस्तृत रुपमा तलासी लिएको थियो। तलासीका क्रममा उनीहरूले साथमा लुकाइछिपाइ ल्याएको १,००० रुपैयाँ दरका ११८ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बरामद नक्कली नोट अत्यन्तै उच्च गुणस्तरमा छापिएको देखिएको र नोटको स्रोत तथा आपराधिक सञ्जालबारे अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूमाथि मुलुकी फौजदारी संहिता अनुसार नक्कली नोट सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।



