काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि सेवा लिने नागरिकको चाप बढेपछि अवधि थपेको छ । आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत नाम दर्ता तथा अद्यावधिक कार्यको समय मंसिर ५ गतेसम्म बढाइएको जानकारी दिएको हो ।
आयोगका अनुसार पछिल्ला दिनमा नयाँ मतदाताको सहभागिता उल्लेख्य रूपमा बढेपछि सहजताका लागि अवधि थपिएको हो । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र समय तोकेको थियो । प्रधानमन्त्री सुशीला कार्कीले पनि हिजो आयोगलाई सेवा समय विस्तार गर्न आग्रह गरेकी थिइन् ।
आयोगको अद्यावधिक विवरणअनुसार हालसम्म दुई लाख ५७ हजार पाँच सयभन्दा बढी नयाँ नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । आयोगले थपिएको अवधिमा पनि उत्साहजनक सहभागिता हुने आशा व्यक्त गरेको छ ।
