काठमाडौं । आज नेवार समुदायमा म्हः अर्थात् आत्म पूजा गरिँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्ति हरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् ।
यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ । यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुरका नेवार समुदायले आज भाइटीका मनाउँदै छन् ।
आजदेखि नेपाल सम्वत् ११४६ शुरु
आजदेखि नेपाल संवत् ११४६ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गर्नुभएको थियो । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवत्को अवसरमा विशेष कार्यक्रम हुँदैछन् ।
गरीब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।
