वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । दिपावलीको लागि झालरबत्ति लगाउने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १, छपकैया निवासी १७ वर्षीय पीयूष साहको करेन्ट लागेर मृत्यु भएको हो ।
धनतेरसको दिन शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार साँझ करिब ६ बजे पीयूष आफ्नै एकतले घरमा दीपावलीका लागि झालर बत्ती जडान गरिरहेका थिए । सोही क्रममा तारमा अचानक विद्युत् प्रवाह भएर उनलाई करेन्ट लागेको थियो ।
अचेत भएपछि स्थानीयले तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उनको निधन भएको प्रहरी निरीक्षक चौलागाईंले पुष्टि गरे ।
मृतक पीयूष छपकैया बजार निवासी लालु साह तेलीका छोरा हुन् । घटनाले तिहारको उल्लासमय वातावरणमा शोकको छायाँ पारेको स्थानीयवासीले बताएका छन् ।
प्रहरीले घटनापछि घर वरपरको विद्युत् जडानको निरीक्षण गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
स्थानीयवासीले विद्युत् उपकरण प्रयोग गर्दा सुरक्षात्मक मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा जोड दिएका छन् । दीपावलीको तयारीकै क्रममा घटेको यस दुर्घटनाले समुदायभर दुःख र स्तब्धता छाएको छ ।
