वीरगञ्ज । मोटरसाइकलको तेल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरको हेटौंडा उपमहानग्पालिका वडा नंबर १३ बस्ने २४ बर्षिय सुभराज मोक्तान र मोटरसाइकल पछाडि सवार हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ बस्ने २२ बर्षिय निरज गोले रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नंबर २१ अमलेखगञ्जमम वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा मोटरसाइकलको पेट्रोल टयांकीभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले लागुऔषध ओनेरेक्स सिरप एक सय एमएलको ३९ बोतल फेला पारेको थियो । पक्राउ परेका दुबैजनालाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको न्यौपानेले बताए ।



