वीरगञ्ज । सञ्चारकर्मी दिपेन्द्र गिरी माथि सांघातिक आक्रमण भएको हप्तौं दिन बिति सक्दा पनि पर्सा प्रहरीले अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै नेपाल प्रेस युनियन जिल्ला शाखा पर्साले आपत्ति जनाएको छ । युनियनका पर्सा सचिव ईरफान अलीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नं.११ श्रीपुर बस्ने पत्रकार दिपेन्द्र गिरी र उनको परिवार माथि भएको सांघातिक आक्रमण प्रति यस संगठनको गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।
गत चैत ११ गते आईतवारका दिन राती ९ः०० बजे सोही स्थानमा बस्ने रुपेश पटेल, दिपेश पटेल लगायतकाले पत्रकार गिरीको घरमै प्रवेश गरी पत्रकार गिरी, उनको श्रीमति र आमा समेतलाई बिना कारण आक्रमण गरी गम्भिर घाईते बनाएकोमा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भईसकेको छ ।
घटना भएको हप्ता दिन भन्दा बढी भईसक्दा पनि हाल सम्म दोषीहरुलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि नबढाएकोमा यथाशिघ्र दोषीहरुलाई पक्राउ गरी कानुन अनुसार कडा भन्दा कडा कारवाहीको लागि जोडदार रुपमा माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सदस्य समेत रहेका पत्रकार गिरी मिर्मिरे उज्यालो दैनिक, तराई रिपोर्ट साप्ताहिक लगायतका सञ्चारमाध्यमहरुमा आवद्ध रहेका छन् ।



