काठमाडौं । बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
उनीहरुले नालायक प्रधानमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन जस्ता नारा लगाइरहेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाले मात्र नपुग्ने समेत बताएका छन् । उनीहरुले प्रहरी प्रशासनविरुद्ध समेत नारा लगाइरहेका छन् ।
मंगलबार बिहानैदेखि प्रशासनले कर्फ्यू लगाएको छ । तर, कडा सुरक्षाका बीच जनेजी प्रदर्शनकारी सडकमा निस्किएका छन् । नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोमा भेला भएका प्रदर्शनकारीले समेत प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।
उनीहरुले विद्यार्थीको रगतको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका छन् ।सोमबार भएको जेनजी प्रदर्शनमा भएको प्रहरी दमनमा कम्तिमा १९ जना युवाको मृत्यु भएको छ । २ सय बढी घाइते छन् ।



